सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय लोकतान्त्रिक गणतन्त्रसम्बन्धी विषय बाहेक अन्य विषयमा सभासदहरुलाई ह्वीप लगाउन नहुने बताउनु भएको छ । वाणिज्य तथा आपुर्तिमन्त्री समेत रहनु भएको अध्यक्ष महतोले नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा कोही पनि जान नसक्ने बताउनुभएको हो । संविधानसभाको मुख्य काम संविधान निर्माण गर्नु रहेको भन्दै मन्त्री महतोले अन्य काममा अल्झिनुको कुनै अर्थ नरहने जिकिर गर्नुभयो ।
महतोले समयमै नयां संविधान निर्माण नभए तेस्रो मधेश आन्दोलनका लागि तयार रहन सबैलाई आग्रह गर्नुभयो । यस्तै आजै पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाको टोलीले मधेशी जनअधिकार फोरमका महासचिव रामसहाय प्रसाद यादवलाई पनि ज्ञापन पत्र बुझाएको छ । फोरम महासचिव यादवले महासंघले उठाएका मागमा ऐक्यवद्धता जनाउनुभयो । पत्रकार महासंघले संविधान निर्माणमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराउन संविधानसभामा रहेका सबै दलहरुलाई ज्ञापनपत्र बुझाउने जनाएको छ । महासंघले हिजो नेपाली कांग्रेसलाई ज्ञापनपत्र बुझाएको थियो ।
No comments:
Post a Comment